सामाजिकफीड-
सप्तरी, फागुन १९ गते ।
सप्तरी प्रहरीले राजविराज नगरपालिका–९ मलेठबाट ठूलो मात्रामा लागू औषध गाँजा र अन्य अवैध सामान बरामद गरेको छ। सोमबार बिहान गरिएको अपरेशनमा प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम गाँजा, १४२ कार्टुन स्याउ, तथा हार्डवेयर सामग्री फेला पारेको हो।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार, गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मारिएको थियो।
अनुसन्धानका क्रममा ताल्चा लगाइएको गोदामभित्र ठूलो परिमाणमा गाँजा लुकाइएका साथै कम्पाउन्ड भित्र रहेका दुई ट्रकमा पल्टाइएका १४२ कार्टुन स्याउ फेला परेको प्रहरीको भनाइ छ।
त्यस्तै, घटनास्थलमा बीआर ० जेबी ९७३५ नम्बरको सेतो स्कारपियो र डब्लु बी ७४ एम १५५८ नम्बरको मारुती कार खाली अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।
गोदाम घरको स्वामित्वबारे अझै स्पष्ट नभए पनि प्रहरी अनुसन्धान जारी रहेको जनाएको छ। पछिल्लो समय सप्तरीमा लागू औषध र अवैध सामानको तस्करी बढ्दै गएकाले सुरक्षा निकायले निगरानी कडा पारेको छ।