सामाजिक फीड-
जनकपुरधाम, फागुन १७
धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक महिलाको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ। २० वर्षीया अञ्जली यादवको शव पूजाकोठामा गाडिएको अवस्थामा प्रहरीले बरामद गरेको हो।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार स्थानीयले श्रीमान बेपत्ता भएको सूचना दिएपछि खोजी गर्दा अञ्जलीको शव फेला परेको हो। शव कुहिसकेको अवस्थामा भेटिएको उनले बताए।
प्रहरीले श्रीमान रामहरि यादवले अञ्जलीको हत्या गरेर शव गाडेको हुन सक्ने आशंका गरेको छ। रामहरि यादव १० महिने छोरीसहित बेपत्ता छन्।
स्थानीयका अनुसार गत शनिबार श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। आइतबार रामहरिले अञ्जली हराएको बताएका थिए, तर मंगलबारदेखि उनी स्वयं पनि बेपत्ता छन्। घर सुनसान भएपछि स्थानीयले शंका गर्दै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खोजतलास गर्दा पूजाकोठामा गाडिएको शव भेटिएको डीएसपी सिंहले जानकारी दिए।
अञ्जलीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ। बेपत्ता श्रीमान र छोरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।