सामाजिक फीड-
जनकपुरधाम, फागुन १३ गते ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका तीनजनामाथि पाँचदिनको म्याद थप भएको छ । नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दासमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए।
थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ ।
मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएको थियो ।
कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएका थिए ।
सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमै मिलाउन खोज्ने ५ जना जना छन् । यधपी पूरक जाहेरी परेका मध्येबाट अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।
गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो ।
सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । जसमा पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।