सामाजिक फीड-
जनकपुरधाम, फागुन ८ गते ।
जनकपुरधामस्थित एक सुधार केन्द्रमा २० वर्षीय युवकको शंकास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१०, डुमरियाका राजकुमार यादवको बुधबार साँझ निधन भएको हो।
राजकुमार यादव पछिल्लो दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगाशिवपुरस्थित किशोर फाउन्डेशन सुधार केन्द्रमा बस्दै आएका थिए। सुधार केन्द्रका व्यवस्थापक सञ्जीव शर्माका अनुसार राजकुमारलाई बुधबार बिहान घाँटीमा कफ जमेर सास फेर्न गाह्रो भएको भन्दै जनकपुरको समर अस्पताल लगिएको थियो। अस्पतालले सामान्य उपचारपछि उनलाई निगरानीमा राख्न सुझाव दिएको थियो । तर, दिउँसो पुनः स्वास्थ्य बिग्रिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको व्यवस्थापक शर्माले दावी गरे ।
तर प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष प्रमुख शरद यादवका अनुसार, अस्पताल ल्याउँदा नै राजकुमारको मृत्यु भइसकेको थियो। त्यतिबेला ड्युटीमा रहेका मेडिकल अफिसर राधे मण्डल र रमेश यादवले मृत घोषित गरेका थिए ।
राजकुमारको मृत्युबारे सुधार केन्द्रका व्यवस्थापक र अस्पतालका चिकित्सकका भनाइहरू मेल नखाने देखिएको छ। स्थानीय महेशलाल यादवका अनुसार, राजकुमारकी आमा सरस्वती देवी चार दिनअघि सुधार केन्द्रमा छोरालाई भेट्न गएकी थिइन्। उनले छोराको अवस्था नाजुक देखेर घर लैजान चाहेको तर सुधार केन्द्रका संचालकले अझै चार–पाँच महिना राख्नुपर्छ भन्दै रोकिएको बताएका छन् ।
परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकाले मृत्यु भएको हुनसक्ने आशंका गरेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार राजकुमार ड्रग एडिक्ट रहेको र उनलाई समर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको थियो। “त्यहाँबाट लगेपछि उनी सुतेको सुतै भए, अनि प्रादेशिक अस्पताल ल्याइएको बुझिएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टबाट स्पष्ट हुनेछ,“ डीएसपी सिंहले बताए ।
बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा राजकुमारको पोस्टमार्टम गरिएको छ। उनी परिवारका एक्ला छोरा थिए र उनका दुई सन्तान छन्। उनका बुबा रामबाबु यादव वैदेशिक रोजगारीमा छन्। परिवारले सुधार केन्द्रको लापरबाहीका कारण मृत्यु भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।