सामाजिक फीड-
जनकपुरधाम, फागुन ८ गते ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको शंकास्पद मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरिएको छ।
पीडित परिवारले सामूहिक बलात्कार र रहस्यमय मृत्यु घटनामा संलग्नलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दा दर्ता गराएका छन्। जाहेरीमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक, र लेनदेन मिलापत्र गरी चारवटा अभियोग लगाइएको छ।
पीडित परिवारका अनुसार, बलात्कारमा संलग्न तीन जनासहित घटनालाई गाउँमै मिलाउन खोज्ने पाँच जना पञ्चलाई जाहेरीमा समावेश गरिएको छ।
सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, पूरक जाहेरी दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। “पीडित पक्षबाट जाहेरी आजै दर्ता भएको छ। यसका आधारमा हामी अनुसन्धान अगाडि बढाइरहेका छौँ। अहिलेसम्म कोही पक्राउ परेका छैनन्, तर फरार भएकाहरूको खोजी जारी छ,“ उनले बताए।
गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसअघि माघ २७ गते राति शौच गर्न बाहिर गएकी बेला उनीमाथि सामूहिक बलात्कार भएको थियो।
घटनालाई दबाउन गाउँमै पञ्चायत बसेको खुलेको छ। वडासदस्यसहितका स्थानीयको संलग्नतामा माघ २९ र ३० गते छलफल गरी पीडकलाई १ लाख ४० हजार जरिवाना तिराउने र पीडित पक्षलाई प्रहरीमा उजुरी दिन रोक्ने८८ निर्णय गरिएको थियो।
यस घटनाको गम्भीरता हेर्दै मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।