सामाजिक फीड-
जनकपुरधाम, फागुन ७ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जस्थित लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनोको अनुगमन गरेका छन्।
नेपाली नागरिकहरू क्यासिनोमा जुवा खेली आर्थिक, सामाजिक र मनोवैज्ञानिक सङ्कटमा परिरहेको जानकारी पाएपछि मुख्यमन्त्री सिंहले बुधबार यी क्यासिनोहरूको निरीक्षण गरेका हुन्। पछिल्लो पटक एक नेपाली नागरिकले ४० लाख रुपैयाँ गुमाएको खबर आएपछि उनले अनुगमनलाई प्राथमिकता दिएका थिए।
अनुगमनका क्रममा होटल सुरजको क्यासिनोमा जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ। कानुनी रूपमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश तथा जुवा खेल्न प्रतिबन्ध भए पनि नियमनको अभाव देखिएको छ। नियन्त्रणमा लिइएका ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको छ।
मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा क्यासिनोहरूको अभिलेख व्यवस्थापन कमजोर रहेको भन्दै व्यवस्थापन पक्षलाई एक महिनाभित्र प्रवेश गरेका व्यक्तिहरूको परिचयपत्रसहितको विवरण, एक साताको सिसिटिभी फुटेज, कर्मचारीको सूची लगायतका आवश्यक कागजात लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै उनले क्यासिनो सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र भए पनि तिनको व्यवस्थापनमा गम्भीर त्रुटि रहेको बताए। क्यासिनोबाट संकलित प्रमाणहरूको अध्ययनपछि आवश्यक कारबाही अघि बढाइने जानकारी दिए।