सामाजिक फीड-
जनकपुरधाम, फागुन ७ गते ।
जनकपुरधाम–१४ पिडारीचोकस्थित दर्ताविहीन मुस्कान अस्पतालमा गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गराइएकी २५ वर्षीय वविता कुमारी यादव अझै बेहोस छिन् । हाल माघ ३० गतेदेखि उनको उपचार काठमाडौंको मेडिसिटी अस्पतालमा भइरहेको छ । चिकित्सकहरूले थोरै सुधार आएको बताएपनि वविता अझै होसमा आउन नसकेको श्रीमान् अंगेश कुमार यादवले बताए ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–५ का अंगेशकी श्रीमती ववितालाई माघ ६ गते जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको थियो । अंगेशका अनुसार त्यहाँ २९ दिनसम्म उपचार गर्दा पनि सुधार नआएपछि भेन्टिलेटर एम्बुलेन्समार्फत काठमाडौं लगियो । वीर अस्पतालमा भेन्टिलेटर नपाउँदा दुई घण्टा कुर्नुपरेको थियो । अन्ततः उनलाई काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना रेर उपचार भइरहेको छ । तर आर्थिक अभावका कारण केएमसीमा प्रभावकारी उपचार हुन नसकेको श्रीमान अंगेशको भनाइ छ ।
माघ ३ गते मुस्कान अस्पतालमा सर्जन डा. ज्ञानकुमार साहको नेतृत्वमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियामा लापरवाही भएको कारण वविता २० दिनसम्म बेहोस रहेको विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माघ २५ गते मुस्कान अस्पतालको छड्के अनुगमन गर्दै बन्द गराएका थिए । र वविताको उपचार तत्काल राम्रो अस्पतालमा लगेर गराउन संचालकलाई निर्देशन दिएका थिए ।
तर, अस्पतालले कुनै चासो नदिएको वविताका श्रीमान् अंगेशले गुनासो गर े। आर्थिक अभावका कारण वविताको उपचार झनै कठिन हुँदै गएको छ।
अंगेशले उपचार खर्चको अभावमा खाना खानसमेत समस्या परेको बताए। ‘ऋण खोजेर उपचार गराएँ, अब औषधि किन्न पैसा छैन। साँझ–बिहान खान समेत धौधौ छ। मुस्कान अस्पतालले जिम्मेवारी नलिए वविताको ज्यान जोगाउन सक्दिनँ,’ उनले रुन्दै भने । ‘मुख्यमन्त्रीले निर्देशन दिनुभयो, तर अस्पतालले बेवास्ता गरिरहेको छ। सहयोग पाए मात्र उपचार सम्भव छ, नत्र मेरा दुई छोराहरू टुहुरा हुनेछन् ।’
हालसम्म वविताको उपचारमा ११ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। जानकी हेल्थकेयरमा २६ दिनको उपचार खर्च मात्र ६ लाख रुपैयाँ पुगेको थियो। जसमा तीन लाख रुपैयाँ बुझाएर बाँकी पछि दिने सर्तमा उनलाई काठमाडौं लगिएको थियो। केएमसीमा तीन लाखभन्दा बढी खर्च भइसकेको छ। थप उपचारका लागि अझै ठूलो रकम आवश्यक छ।
वविताको परिवार आर्थिक रूपमा कमजोर छ । अंगेश भारतको हैदराबादमा मजदुरी गर्थे। तर, श्रीमतीको अवस्था नाजुक भएपछि सबै छोडेर आएपछि कुरुवा बनेका छन् । ऋण लिने ठाउँसमेत सकिएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘गाउँमा फोन गरिरहेको छु, तर अब ऋण लिन पनि गाह्रो भइसकेको छ। पैसा नहुँदा उपचार सम्भव देखिरहेको छैन,’ उनले दुखेसो पोखे।
वविताको ज्यान बचाउन इच्छुक व्यक्ति तथा संस्थाले सहयोग गर्न परिवारले आग्रह गरेको छ ।