सामाजिक फीड-
जनकपुरधाम, फागुन ६ गते ।
भारतको पञ्जाबमा २५ वर्षसम्म बन्धक जीवन बिताएपछि स्वदेश फर्किएका चलितर महतोले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले बटेश्वर गाउँपालिका वडा नं. १ को कार्यालयमै पुगेर उनलाई नागरिकता प्रदान गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले चलितरलाई नागरिकता हस्तान्तरण गरेका । नागरिकता पाएपछि चलितर अत्यन्त हर्षित भए। उनले यसलाई आफ्नो जीवनको नयाँ सुरुवातको रूपमा लिँदै अब नागरिकता प्राप्त भएपछि आफ्नो र पारिवारिक जीवन सहज हुने बताए । उनले आफ्नो नागरिकता प्राप्तिमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी कडरियाले लामो समयको पीडा सहेर फर्किएका नागरिकलाई वडा कार्यालयमै नागरिकता दिन पाउनु सुखद् क्षण भएको बताए । उनले चलितरको बाँकी जीवन नागरिकताको कारण सहज हुने विश्वास व्यक्त गरे ।
चलितरको नागरिकता प्रक्रियामा वडा नं. १ का अध्यक्ष अशोककुमार महतो, एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री सत्रुधन महतो, वडा सचिव कौशल महतो तथा उनका दाइ जगदीश महतोले महत्वपूर्ण भूमिका खेलेका थिए। वडा अध्यक्ष अशोककुमार महतोले नागरिकता वितरण कार्यक्रममा चलितर बेपत्ता हुँदा उनका छोरा प्रविन नागरिकताको लागि बुबाको मृत्युदर्ता बनाउन पटक–पटक वडा कार्यालय आएको सम्झिए ।
नागरिकता वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत बाल मुकुन्द शर्मा, राम त्रिपाल महतो, बटेश्वर गाउँपालिकाका अध्यक्ष रामहसिस महतो, उपाध्यक्ष फूलकुमारी सिंह, प्रशासकीय अधिकृत रेवती पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका व्यक्तिहरूको उपस्थिति थियो।
चलितर महतो २५ वर्षअघि मजदुरीको सिलसिलामा भारतको पञ्जाब पुगेका थिए। त्यहाँ उनलाई एक साहुले बन्धक बनाएका कारण उनी परिवारसँग सम्पर्कविहीन बने। लामो समयसम्म खबर नआउँदा परिवार र समाजले उनको मृत्यु भइसकेको अनुमान गरेका थिए। तर, कार्तिक १९ गते साँझ उनी अचानक गाउँ फर्किंदा गाउँलेहरू अचम्मित भए ।
उनका २७ वर्षीय छोरा प्रविन सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा खाजा पसल सञ्चालन गरेर परिवार चलाइरहेका छन्। प्रविनले नागरिकता प्राप्त गर्न बुबाको मृत्युदर्ता गराउने प्रयास गरे पनि सफल हुन सकेका थिएनन्।