एजेन्सी
जनकपुरधाम, फागुन ४ गते।
भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको ज्यान गएको छ । घटनामा पाँच बालबालिका, नौ महिला र तीन पुरुष परेका छन् भन्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
शनिवार राति साढे ९ बजे महाकुम्भ मेला हेर्न उत्तरप्रदेशतर्फ जाने यात्रुको भीडले भागदौड मच्चाएको हो।
रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार, प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेसका यात्रुहरू एउटै रेल अन्तिम हो भन्ने भ्रममा परे। यसैले उनीहरूबीच तछाडमछाड सुरु भयो र भागदौड मच्चिँदा कैयौं मानिस किल्चिए।
मृतकमध्ये ९ जना बिहारका, ८ जना दिल्लीका र १ जना हरियाणाका रहेको बताइएको छ।
घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।