सामाजिक फीड–
जनकपुरधाम, फागुन १ गते ।
नेपालले नि:शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई ३५ प्रकारका अत्यावश्यक औषधि नि:शुल्क उपलब्ध गराउने भएको हो।
डब्लुएचओ र नेपालबीच अघिल्लो वर्ष २७ मार्चमा भएको सम्झौता अनुसार नेपालले आगामी पाँच वर्षसम्म नि:शुल्क औषधि प्राप्त गर्नेछ। हाल पहिलो लटमा एक वर्षलाई पुग्ने औषधि नेपाल आउने तयारीमा रहेको डब्लुएचओ नेपालका बाल क्यान्सर अधिकृत डा. सुमन पन्थीले जानकारी दिए।
औषधि कुन दिन आइपुग्छ भन्ने यकिन नभए पनि एक साताभित्रै सरकारलाई हस्तान्तरण गरिने उनले बताए। ‘दिन निश्चित भइसकेको छैन, तर छिट्टै आइपुग्दैछ। अर्को सातासम्म सरकारलाई हस्तान्तरण गरिसक्ने योजना छ,’ पन्थीले भने।
यसरी प्राप्त हुने औषधि तत्कालका लागि नेपालका चार अस्पताललाई वितरण गरिनेछ। भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्।
नेपालमा हाल बाल क्यान्सर निको हुने दर करिब ३० प्रतिशत मात्रै रहेको छ। नेपालले सन् २०३० सम्म यो दर कम्तीमा ६० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। नि:शुल्क औषधिको उपलब्धतापछि उपचार प्रभावकारी हुने र बाल क्यान्सर निको हुने दर वृद्धि हुने विश्वास गरिएको छ।