सामाजिक फीड–
जनकपुरधाम, फागुन १ गते ।
“समयमै नसर्ने रोगको जाँच गराऔं, स्वास्थ्य र दीर्घ जीवन बचाऔं” भन्ने मूल नाराका साथ बिहीबार जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालाको प्रांगणमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अभियानको उद्घाटन गर्नुभएको हो।मन्त्री सिंहका अनुसार, यो अभियान मधेश प्रदेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको छ। उहाँले रोग लागेपछि उपचार गर्नुको साटो रोग लाग्न नदिन जनचेतना आवश्यक रहेको बताउनुभयो। “यस अभियानले जनतालाई स्वास्थ्य जोखिमबारे जानकारी दिनुका साथै रोग पहिचान तथा रोकथाममा मद्दत गर्नेछ,” मन्त्री सिंहले भन्नुभयो।
स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवणकुमार नायकले नागरिकहरूलाई नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार, प्रारम्भिक चरणमै रोग पहिचान गराई आवश्यक उपचार उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
स्वास्थ्य निर्देशनालयद्वारा सञ्चालन गरिएको यस अभियानले नसर्ने रोगबारे जनचेतना वृद्धि गर्नुका साथै नागरिकहरूलाई स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रियामा सहभागी गराउने लक्ष्य राखेको छ। एक महिनासम्म सञ्चालन हुने यो अभियानअन्तर्गत प्रदेशभरका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै, प्रदेशका १३६ वटै पालिकामा सञ्चालन भइरहेको अभियानले समुदायस्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।