जनकपुरधाम,माघ २५ गते ।
जनकपुरधाममा विहिबारदेखि छैठौं जनकपुर साहित्य महोत्सवको थालनी भएको छ। नव मिथिला फाउण्डेशनको आयोजनामा “धरातल, संस्कृती र संस्कारको उत्सव” नाराका साथ शुरु भएको महोत्सव जनकपुरधामको राम मन्दिरको राम पार्कमा आयोजित गरिएको हो। महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा नेपालका प्रख्यात राजनीतिक विश्लेषक सीके लालले “सियाराम राज्यको परिकल्पना: साहित्य र अर्थराजनीति” विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए।
सीके लालले आफ्नो भाषणमा सियाराम राज्यको परिकल्पनालाई केलाउँदै भने, “सियाराम राज्य केवल धार्मिक परिकल्पना मात्र होइन, सामाजिक समानता र राजनीतिक समावेशिताको एक प्रतीक हो। यो अवधारणा परम्परागत सामाजिक संरचनालाई चुनौती दिँदै समानता, न्याय र समावेशी विचारलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्छ।”
राजनीतिक विश्लेषक लालले विशेष गरी सीताको पात्रलाई परिभाषित गर्दा आजको सीतालाई बलियो, आत्मनिर्भर र न्यायका लागि लड्ने महिला भनेर चित्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। परम्परागत रामायणमा सीतालाई त्याग र सहनशीलताको प्रतीकका रूपमा प्रस्तुत गरिएको भए पनि आजको सन्दर्भमा उनी एक निर्णायक र संघर्षशील नेता हुनुपर्छ। सियाराम राज्यमा सीता अन्यायको प्रतिकार गर्ने, निर्णय गर्ने र शक्तिशाली रूपमा स्थापित हुने चरित्रको प्रतिनिधित्व गर्नु आवश्यक छ l मधेश प्रदेशका महिलाहरूलाई अपार संघर्षशील र मेहनती बताउँदै भने, मधेशकी महिलाहरू परम्परागत रूपमा आत्मनिर्भर र संघर्षशील छन्। चाहे त्यो कृषि, व्यापार, सामाजिक अधिकार वा मधेश आन्दोलन हो, यहाँका महिलाहरू सधैं आफ्नो अधिकारको निम्ति आवाज उठाउँदै आएका छन्। उनले जोड दिएका छन् कि पितृसत्तात्मक सोचका कारण उनीहरूको योगदानलाई कम आँकिएको छ, जसको समाधान सियाराम राज्यको परिकल्पनामा खोजिनुपर्छ।
समावेशी समाजको निर्माणको लागि सीके लालले एलजिबिटिआइक्यू समुदायको समान हकको सुनिश्चितता र सामाजिक स्वीकृतिका आवश्यकता प्रकट गरेका छन्। उनले भने, “मधेशमा एलजिबिटिआइक्यू समुदायले अझै पनि भेदभाव, असमानता र हिंसाको सामना गरिरहेको छ। सियाराम राज्यले यी समुदायलाई सम्मानपूर्वक बाँच्नका लागि कानूनी पहिचान, समान अवसर र सामाजिक स्वीकृतिको व्यवस्था गर्नुपर्छ।”
साहित्य र अर्थराजनीतिक दृष्टिकोणका बारेमा विचार राख्दै सीके लालले भने, “जब कुनै देशको राजनीति समस्यामा पर्छ, साहित्यले त्यसको समर्थन गर्ने कर्तव्य निभाउँछ। साहित्य समाजको सही दिशा तय गर्न महत्वपूर्ण साधन हो।” उनले साहित्यलाई परम्परागत कथाहरूमाथि पुनर्विचार गर्दै नयाँ सामाजिक संरचना निर्माण गर्ने जिम्मेवारी दिएको बताए। महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने नीति ल्याउनुपर्छ, ताकि उनीहरू पुरुषहरूको अधीनमा निर्भर हुन नपरोस्। एलजिबिटिआइक्यू समुदायलाई रोजगारी र उद्यमशीलता अवसर दिइनुपर्छ।”
सियाराम राज्यको परिकल्पनाले परम्परागत कथालाई आधुनिक दृष्टिकोणबाट पुनःव्याख्या गर्ने विचार राख्दछ। आजको सीता केवल एक पतिव्रता स्त्री मात्र होइन, उनी न्याय, समानता र समावेशिता र बलिको प्रतीक हो। यस अवधारणाले न केवल महिलाहरूको सशक्तिकरण, अपितु एलजिबिटिआइक्यू समुदायको समावेशीता र समान हकलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता प्रकट गर्दछ। नयाँ सियाराम राज्यले समावेशी, न्यायपूर्ण र समानतामा आधारित समाजको निर्माणमा योगदान पुर्याउन सक्छ।