सामाजिक फीड-
जनकपुरधाम, माघ २४ गते ।
नेपाल तथा भारतमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको गिरोहका चार जना सिरहाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित सिरहाका तीन नेपाली नागरिक छन् ।
सिरहाको सुखीपुर नगरपालिका–८ का ४५ वर्षीय इन्दल भनिने इन्द्र नारायण चौधरी, ३१ वर्षीय भैरव भनिने देव कुमार मुखिया, लहान नगरपालिका–४ का ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतको पश्चिम बंगाल, हुगली ग्राम पञ्चायत भगबतीपुर–७ का मेहराज मोन्डल उर्फ निरोजलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार मंगलबार लहान नगरपालिका–७ स्थित विकास ट्रेडर्स (सुन–चाँदी पसल) मा डकैतीको योजना बनाइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरू नेपाल र भारतमा लुटपाट, अपहरण, र धम्क्याएर चन्दा असुल्ने जस्ता आपराधिक कार्यमा संलग्न थिए। उनीहरू ‘डी’ ग्रुप नामक गिरोह सञ्चालन गर्दै आएका थिए। भारतीय प्रहरीले समेत सोही समूहका चार जनालाई पक्राउ गरेको छ ।