Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम
माघ २२ गते –

जनकपुरधाममा विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको नव मिथिला फाउन्डेसनद्वारा ‘जनकपुर साहित्य महोत्सव’ यस वर्ष छैटौं संस्करणमा प्रवेश गर्दैछ। तीन दिवसीय महोत्सव माघ २४, २५, र २६ गते जनकपुरधामको ऐतिहासिक राम मन्दिर पार्कमा आयोजना गरिनेछ।

यस छैटौं संस्करण महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा र संस्कृतिसम्बन्धी गहन छलफल हुनेछ भने आयोजकका अनुसार महोत्सवमा १७ वटा विशेष सत्र, १४ वटा प्यानल डिस्कसन, ३ वटा एकल प्रवचन र सांगीतिक प्रस्तुति समेटिएको छ।

मुख्य सत्रहरूमध्ये ‘जनकपुरधामका चुनौती र अवसरहरू’, ‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘नेपालको परराष्ट्र नीति र सिमाञ्चल’, ‘संघीय दृष्टिमा मधेश’ जस्ता बहस हुने छन्। साथै, महोत्सवका क्रममा ‘अमित झा साहित्य संगीत पुरस्कार’ प्रदान गरिनेछ।

यस वर्ष नव मिथिला फाउन्डेसनले विद्यार्थीहरूका लागि वक्तृत्वकलासँगै कविता, शिल्पकला र कथा वाचन प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरेको छ। प्रतियोगिता माघ ७, ८ र ९ गते अन्तरविद्यालय स्तरमा हुनेछ।

यस महोत्सवले साहित्यिक गतिविधिलाई अझ परिस्कृत गर्दै जनकपुरधामलाई बौद्धिक बहसको केन्द्र बनाउने लक्ष्य राखेको फाउन्डेसनका अध्यक्ष अमितले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!