Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।

नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ। आइतबार साँझ ८ बजेदेखि विभिन्न इन्टरनेट सेवा प्रदायकका ग्राहकले इन्टरनेट समस्या भोगिरहेका छन्। इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएकाले सेवा अवरुद्ध भएको हो।

पराजुलीले भने, “एयरटेलले नेपाललाई उपलब्ध गराउने इन्टरनेट सेवा २ घण्टादेखि बन्द गरेको छ। हामीले पटक-पटक आग्रह गर्दा पनि सरकारले दुई वर्षदेखि एयरटेललाई ६ अर्ब रुपैयाँ भुक्तानी नगरेकाले यस्तो अवस्था आएको हो।”

नेपालमा ७० प्रतिशत इन्टरनेट ब्यान्डविथ भारतीय कम्पनी एयरटेलमार्फत ल्याइन्छ। सरकारले विदेशी मुद्राको सिफारिस रोकिदिँदा दुई वर्षदेखि भुक्तानी गर्न नसकिएको आईएसपानले जनाएको छ। यसले वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवा प्रदायकका प्रयोगकर्तालाई असर पुर्‍याएको छ।

सरकारले जिम्मेवारी लिनुपर्छ

आईएसपानका अनुसार इन्टरनेट सेवा प्रदायकले इन्टरनेट शुल्कबापतको रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (RTDF) को दस्तुर बुझाउँदै आएका छन्। तर, सरकारले मर्मत सम्भार शीर्षकमा बेरुजु देखाउँदै विदेशी मुद्रा सिफारिस रोकिदिएको छ।

पराजुलीले भने, “निजी क्षेत्रलाई सरकारले विभेद गरिरहेको छ। सरकारी दूरसञ्चार कम्पनीले सिधै बैंकमार्फत विदेशी मुद्रा सटही गर्न सक्छ तर निजी क्षेत्रलाई अनुमति दिइँदैन।”

आईएसपानले सरकारलाई इन्टरनेट सेवा बन्द हुने जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ। साथै, नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नवीकरण गर्नुपर्ने, ब्यान्डविथ खरिद गर्न सिफारिस दिनुपर्ने, र रोयल्टी तथा आयकरमा सहजीकरण गर्नुपर्ने माग राखेको छ।

सरकारले आवश्यक कदम नचाले इन्टरनेट सेवामा अझ गम्भीर संकट आउने चेतावनी आइएसपानले दिएको छ। “डिजिटल नेपाल अभियान अघि बढाउने सरकारकै नीतिका कारण अहिले इन्टरनेट सेवा संकटमा परेको छ।” पराजुलीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *