सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को वेबसाइट बन्द गरिएको छ। विश्वव्यापी विदेशी सहायता र विकास सहयोग रोक लगाएपछि अमेरिकी सरकारले शनिबारदेखि वेबसाइट अनलाइनबाट हटाएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएसएआईडीका १०० भन्दा धेरै कर्मचारीलाई बिदामा पठाइएको छ भने झण्डै ३० जना कर्मचारीले आफ्नो इमेल पहुँच गुमाएका छन्।
यसैबीच, एलोन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ (डज) का प्रतिनिधिलाई भवनको प्रतिबन्धित क्षेत्रमा जानबाट रोक्न खोजेका दुई सुरक्षा अधिकारीहरूलाई बिदामा पठाइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च कटौती गर्न मस्कलाई जिम्मेवारी दिएका थिए।
डेमोक्रेटिक सांसदहरूले ट्रम्प प्रशासनले युएसएआईडीलाई स्वतन्त्र एजेन्सीबाट हटाएर विदेश विभागमा समाहित गर्ने योजना बनाएको आरोप लगाउँदै कानूनी चुनौती दिने बताएका छन्। युएसएआईडी शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास लगायतका क्षेत्रमा काम गर्दै आएको थियो।