सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा सुधारिएको देखिन्छ । कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । भारत, चीन र अन्य मुलुकतर्फ क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १ प्रतिशतले निर्यात बढेको छ । मुख्य रूपमा सोयाबिन तेल, चिया, पोलिस्टर यार्न, अलैंची आदि वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जडीबुटीको निर्यात घटेको छ ।
त्यसैगरी, वस्तु आयात ७.१ प्रतिशतले बढेर ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । भारत, चीन तथा अन्य मुलुकबाट आयात क्रमशः ५.९, ८.९ र ९ प्रतिशतले वृद्धि भएको छ । पेट्रोलियम पदार्थ, सुन, रासायनिक मल लगायतको आयात घटे पनि कच्चा भटमास तेल, चामल, सवारीसाधन र स्पेयर पार्ट्सको आयात बढेको छ ।
नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्ज, भैरहवा, विराटनगर लगायतबाट निर्यात घटेको छ भने अधिकांश नाकाबाट आयातमा वृद्धि देखिएको राष्ट्र बैंकले जनाएको छ ।