Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम
, माघ १८ गते

चिनियाँ दूतावासले मधेसमा वितरण गरेको साइकल नयाँ देखिए पनि प्राविधिक रूपमा पुराना र कमसल भएको विद्यार्थीहरूको गुनासो आएको छ। एक हप्ता अगाडि वीरगन्ज महानगरपालिका–१५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले २०० थान साइकल वितरण गरेको थियो।

कार्यक्रममा चिनियाँ दूतावासका काउन्सुल वांग सिन र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको उपस्थिति रहेको थियो। वितरण गरिएको साइकल नयाँ देखिए पनि ब्रेकवायर छिट्टै बिग्रिने, बल बियरिङ पुरानो भएको, तथा केही पार्टसहरू प्रयोग गर्नै नसकिने विद्यार्थीहरूको गुनासो छ।

नरसिंह विद्यालयका एक विद्यार्थीले भने, “साइकल त नयाँ देखिन्छ, तर टायर र ब्रेकवायर निकै कमसल छ। मेकानिकलाई देखाउँदा पुरानो साइकललाई रङ लगाएर नयाँ जस्तो देखाइएको जस्तो लाग्यो।”

विद्यालयका एक शिक्षकले सबै साइकल खराब नभए पनि केहीमा समस्या देखिएको स्वीकार गरेका छन्। तर विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामनारायण कुर्मीले भने सबै साइकल नयाँ भएको दाबी गरे।

चिनियाँ दूतावासले पछिल्लो समय मधेसमा व्यापारिक पहुँच बढाउन र शैक्षिक तथा सामाजिक कार्यक्रममार्फत प्रभाव विस्तार गर्न खोजिरहेको छ। यसअघि मधेस प्रदेश सरकारले सञ्चालन गरेको साइकल वितरण कार्यक्रम अत्यधिक लोकप्रिय भएपछि चीनले पनि यो कार्यक्रम सुरु गरेको थियो। तर सुरुमै पुराना र कमसल साइकल वितरणको आरोप लागेपछि चिनियाँ दूतावासका पछिल्ला कार्यक्रमहरू विवादमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *