सामाजिक फीड-
माघ १७ गते – जनकपुरधाम
तराई-मधेश केन्द्रित आठ राजनीतिक दलबीच मोर्चा वा लूज एलायन्स गठनका लागि आठ सदस्यीय कार्यदल गठन गरिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रत्येक दलबाट एक/एक जना प्रतिनिधि रहने गरी कार्यदल बनाउने निर्णय गरेको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले कार्यदल गठन भएको जानकारी दिँदै भने, “कार्यदलले सहकार्यका सम्भावित विषयहरू पहिचान गरी प्रतिवेदन पेश गरेपछि अध्यक्षस्तरको बैठकबाट अनुमोदन हुनेछ।”
कार्यदलमा जनता समाजवादी पार्टीबाट ईश्तियाक राई, जनमत पार्टीबाट डा. शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशील पार्टीबाट डा. शिवजी यादव र तमलोपाबाट ब्रजेश सिंह रहेका छन्।
बैठकले कार्यदललाई सहकार्यका सम्भावना पहिचान गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको छ। प्रतिवेदन अनुमोदन भएपछि मोर्चा गठनबारे थप प्रक्रिया अघि बढाइने बताइएको छ।