सामाजिक फीड-
माघ १७ गते – जनकपुरधाम
धनुषाधाम नगरपालिका–९, मुर्गिया गाउँका किसानले सिँचाइको अभाव झेल्दै आएका थिए। खेतबारीमा लगाएको बाली सुक्न थालेपछि स्थानीयले सामूहिक रूपमा मुर्गिया खोलामा माटो, बालुवा, बाँस, ढुङ्गा, र पातपतिङ्गरको प्रयोग गरी अस्थायी बाँध निर्माण गरेका छन्।
स्थानीय किसान तेजिलाल यादवका अनुसार बाँधबाट करिब १५० बिघा खेतमा सिँचाइ सहज भएको छ। पाइपको माध्यमबाट जलाशयको पानी खेतसम्म पुर्याइएको छ। पूर्व वडाध्यक्ष सञ्जिव यादवले बाँधबाट किसानलाई ठूलो राहत मिलेको बताउँदै सरकारबाट स्थायी ड्यामको आवश्यकता औँल्याए।
किसान रामेश्वर साहले सिँचाइ सुविधा अभावले खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यता रहेको बताए। निरन्तरको प्रयासपछि मधेस सरकारले मुर्गिया खोलामा स्थायी ड्याम निर्माणका लागि चासो देखाएको छ।
केही दिनअघि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, तथा नगर प्रमुख बालेश्वर मण्डलले स्थलगत अनुगमन गरेका थिए। मन्त्री यादवले ड्याम निर्माणका लागि ८० लाख रुपियाँ बजेट विनियोजन गरिएको र बहुवर्षीय योजनाका रूपमा अघि बढाइने जानकारी दिए। सभामुख मण्डलले किसानको मेहनतले सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै स्थायी ड्याम बनेपछि खेती, आम्दानी, र जीवनस्तर सुधार हुने विश्वास व्यक्त गरे।