सामाजिक फीड-
माघ १७ गते – जनकपुरधाम
बिहीबार बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
ना १ ज ६४२१ नम्बरको टाटा सुमो खोटाङबाट काठमाडौं जाँदै गर्दा अनियन्त्रित भई करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। सवारी दुर्घटनामा परी ज्यान गुमाएका तारा गुरुङ मृतक मायादेवीकी बहिनी हुन्।
परिवारका अनुसार बिरामी मायालाई उपचारका लागि छोरा पुजन र बहिनी तारा सँगै लिएर काठमाडौं जाँदै थिए। तर, यात्रा बीचमै दुर्घटनाले उनीहरूको जीवन समाप्त भएको छ।
सुमोमा चालकसहित चार जना सवार थिए। दुर्घटनापछि सुनसरी इनरुवा नगरपालिका-२ का २२ वर्षीय चालक अनिल पण्डित फरार भएका छन्। प्रहरीले उनको खोजी कार्य जारी रहेको जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। पीडित परिवारमा शोक छाएको छ भने स्थानीयले यातायात सुरक्षा र अनुगमनको माग गरेका छन्।