Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १६ गते – जनकपुरधाम

विराटनगर महानगरपालिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा ६६ लाख ६७ हजार रुपैयाँ ठगीमा परेका छन्।

सामाजिक सञ्जालमार्फत जोडिएको गिरोहले क्यानडा पठाइदिने आश्वासन दिएर उनीहरूबाट रकम ठगी गरेको थियो। ठगिएको थाहा पाएपछि बाबुछोराले प्रहरीमा उजुरी दिए, जसपछि मोरङ प्रहरीले अनुसन्धान गर्दै पाँच जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत जोगबनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय छन्।

डीएसपी वेदप्रकाश जोशीका अनुसार भारतीय नागरिक यादव मुख्य योजनाकार हुन्। यो गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरलगायत सामाजिक सञ्जालमा विज्ञापन गरेर ठगी गर्दै आएको थियो। यादवले पीडितहरूलाई डिजिटल वालेट तथा बैंक खाता खोल्न लगाएर त्यसको एक्सेस आफैं लिने गर्थे।प्रहरीले गिरोहविरुद्ध ठगी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *