सामाजिक फीड –
जनकपुरधाम, माघ १५
नेपाली कांग्रेसका नेता दुर्गानन्द झाको स्मृतिमा धनुषाको नगराइन नगरपालिका-९, जटहीस्थित उनको स्मारकमा श्रद्धांजलि सभा सम्पन्न भएको छ। २०१८ साल माघ ९ गते तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा मृत्युदण्ड दिइएका झाले २०७२ सालमा नेपाल सरकारले शहीद घोषणा गरेका थिए।
नेपाली कांग्रेस धनुषाका जिल्ला अध्यक्ष योगेन्द्र पंजियारको अध्यक्षता र कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सांसद स्मृति नारायण चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रदेश सांसद, पूर्वमन्त्री, क्षेत्रीय नेता, जिल्लाका नेता, पालिका प्रमुखलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा झाको बलिदानले लोकतन्त्र र स्वतन्त्रताको संघर्षलाई नयाँ दिशा दिएको स्मरण गर्दै उनको योगदानलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले झालाई शहीद घोषणा गर्न ढिला गरिएको भन्दै अझै पनि उनका आदर्शलाई संस्थागत गर्न आवश्यक रहेको बताए।
दुर्गानन्द झाले राजा महेन्द्रको ‘कु’ विरुद्ध संघर्ष गर्दै २०१८ साल माघ ९ गते बम प्रहार गरेका थिए। ब्राह्मण जातिका व्यक्तिलाई मृत्युदण्ड दिनु परे कानून संशोधन गरिएको बताइन्छ। उनलाई २०२० साल माघ १५ गते गोली प्रहार गरी मृत्युदण्ड दिइएको थियो।