Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १४ गते – जनकपुरधाम

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, दुई फरार

कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षीय कुशल चौधरी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले घटनाबारे जानकारी दिँदै भने, “२२ मंसिरमा घटेको घटनाबारे विभिन्न संघ–संस्थाबाट आइतबार सूचना प्राप्त भएपछि दुई जनालाई पक्राउ गरेका छौँ।”

घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुईजना—१८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी—फरार छन्। डीएसपी बोहराका अनुसार उनीहरू भारतमा लुकेर बसेको सूचना प्राप्त भएको छ।

पीडित किशोरीले २२ मंसिरमा मामा घर जाने क्रममा आफूमाथि सामूहिक बलात्कार भएको बताएकी छिन्। पीडितको बयानका आधारमा चार जनाविरुद्ध जबर्जस्ती करणीमा किटानी जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ गर्न थप कदम चालेको जनाएको छ भने पीडितको सुरक्षाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *