सामाजिक फीड-
माघ ११ गते – जनकपुरधाम ।
मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरव्याज विरोधी जनजागरण अभियानको शुरुवात माघ १४ गते सोमबारबाट गर्ने घोषणा गरेको छ। आन्दोलनका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले संसदमा मिटरव्याजको विरूद्ध कानूनी प्रावधान बनेपनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र ६० हजार निवेदनको बावजूद १० प्रतिशत मात्र मुद्दा समाधान भएकोमा असन्तोष प्रकट गरे।
उनले भने, “राज्यको प्राथमिकतामा मिटरव्याज पीडितहरूको मुद्दा नरहेको छ र यदि यही स्थिति जारी रह्यो भने हामी हाम्रो आन्दोलनको रूप परिवर्तन गर्नेछौं।”
मिटरव्याजको शिकार भएका किसान र मजदुरहरूको समस्यालाई उजागर गर्दै आन्दोलनका अगुवाहरूले स्थानीय स्तरमा हुने आर्थिक शोषण र गैरकानुनी ऋण असुलीको समस्यालाई सरकारसमक्ष उठाउने र तत्काल समाधानका लागि पहल गर्ने माग गरेका छन्। साथै, उनीहरूले समाजमा चेतना फैलाउने र संगठित विरोध प्रदर्शन आयोजना गर्ने योजना सार्वजनिक गरेका छन्।
केन्द्रिय महासचिव मनोज कुमार पासवानले भने, “सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषय कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी भइरहेको छ।“
उक्त अभियानका अगुवाहरूले मिटरव्याजको समस्यालाई समाधान नगरेको भन्दै राज्यका निकायहरूलाई थप आलोचना गरे।