सामाजिक फीड-
माघ ११ गते – जनकपुरधाम ।
जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालक ५० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको छ।
मृतक यादव धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ सोहनीका बासिन्दा थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार बिहान कार्यालय जान लाग्दा विपरीत दिशाबाट विद्यार्थीले चलाएको मोटरसाइकलले यादवलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरीका अनुसार, ज १ ब ७५५ नम्बरको मोटरसाइकलमा सवार यादवलाई मधेस प्रदेश २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते यादवको टाउकोमा चोट लागेका कारण उनलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकसँग चालक अनुमति पत्र नरहेको र उनीसहित दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।