सामाजिक फीड–
जनकपुरधाम, माघ ८ गते।
मटिहानी नगरपालिकामा नगर स्तरिय सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता आज मंगलबार सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा गरेका थिए।

प्रतियोगिता मटिहानी नगरपालिका वडा नं. ०६ स्थित मटिहानी रंगशालामा आयोजना भइरहेको छ, जसमा नगरपालिका अन्तर्गतका ५ माध्यमिक विद्यालयले सहभागिता जनाएका छन्। दुईदिने यस प्रतियोगितामा भलिबल, कबड्डी, फरकफरक दूरीका दौड, हाईजम्प, लङ्गजम्प र बुद्धिचालसहित २३ किसिमका खेलहरु समावेश गरिएका छन्।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले शिक्षा र मानसिक विकासमा खेलकुदको महत्त्व जोड्दै भने, “खेलले मानिसलाई आगाडी पुर्याएको छ र खेलाडिको पहिचान स्थापित गर्न पनि सहयोग पुर्याउँछ। मटिहानी नगरपालिकाले खेलकुदमा देखाएको तदारूपता प्रशंसा योग्य छ।”
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले मटिहानीका खेलाडिहरु प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने बताउँदै नगरपालिकालाई खेलकुद प्रतियोगिताको आयोजना गर्न प्रेरित गरे। मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिका शिक्षा र खेलकुदको सुदृढ विकासमा कटिबद्ध रहेको बताए।
सो अवसरमा श्री राम मा.वि.को कक्षा ११ की छात्रा हिना खातुनले राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताले शारीरिक तन्दुरुस्ती र आत्मबल वृद्धि गर्नका साथै विद्यार्थीहरूबीच आपसी मेलमिलाप बढाउनेमा योगदान पुर्याउने कुरा व्यक्त गरिन।
समारोहमा मटिहानी नगरपालिकाका वडाध्यक्ष, विद्यालयका प्रधानध्यापक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता थियो।