सामाजिक फीड-
जनकपुरधाम, माघ ६ गते ।

मधेश प्रदेशसभामा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधनका लागि संकल्प प्रस्ताव पेश गरिएको छ। बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुला प्रतिस्पर्धाबाट मात्र योजना कार्यान्वयन गर्ने व्यवस्था गरिएको थियो, जसले उपभोक्ता समितिबाट काम गर्न बाधा पुर्याएको भन्दै उक्त बुँदाको संशोधन माग गर्दै संकल्प प्रस्ताव पेश भएको हो।
सत्ता गठबन्धन दलकी प्रदेश सांसद रुपाकुमारी यादवले संकल्प प्रस्ताव पेश गरेकी हुन्। प्रस्तावमा नेकपा एमालेकी पल्टी देवी महरा, काँग्रेसकी अञ्जना पण्डित, जनमत पार्टीकी हसिना खातुन, एकीकृत समाजवादीका रत्नेश्वर गोइत र राप्रपाकी कञ्चन विच्छाले समर्थन गरेका छन्।
संकल्प प्रस्ताव अनुसार, ५० लाख रुपैयाँसम्मका योजना उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने र ५० लाखभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट अघि बढाउने व्यवस्था गर्न माग गरिएको छ।
गत पुस २९ गते दर्ता भएको संकल्प प्रस्ताव आज सभामुखको सैद्धान्तिक सहमतिपछि प्रदेशसभामा प्रस्तुत गरिएको हो। प्रस्तावमाथि आगामी दिनमा थप छलफल हुने अपेक्षा गरिएको छ।