सामाजिक फीड-
जनकपुरधाम, माघ ६ गते ।
नाइजेरियाको उत्तर मध्य नाइजर राज्यमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको विस्फोटमा कम्तिमा ७७ जनाले ज्यान गुमाएका छन्। घटनामा उद्धारकर्तासहित २५ जना घाइते भएको जनाइएको छ।
फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको थियो। ट्याङ्कर दुर्घटनापछि तेल सङ्कलन गर्न पुगेका मानिसहरूले विस्फोटमा परेर ज्यान गुमाएका हुन्।
बीबीसीले सुरक्षाकर्मी र उद्धारकर्तालाई उद्धृत गर्दै विस्फोट घटनामा ज्यान गुमाएका ७७ जनाको पुष्टि गरेको छ। घाइते व्यक्तिहरूलाई नजिकैका अस्पतालमा उपचार भइरहेको छ।
नाइजेरियामा यस्ता घटनाहरू बारम्बार भइरहँदा गत अक्टोबरमा पेट्रोल सङ्कलन गर्ने क्रममा भएको विस्फोटमा १५३ जनाले ज्यान गुमाएका थिए।
गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको नाइजेरियामा पेट्रोलको मूल्य १८ महिनामा पाँच गुणाले बढेको छ। राष्ट्रपति बोला टिनुबुको इन्धन अनुदान हटाउने र अर्थतन्त्रलाई बलियो बनाउने नीतिले इन्धनको मूल्य उच्च भएको बताइएको छ।