सामाजिक फीड-
जनकपुरधाम, माघ ६ गते ।
अमेरिकामा टिकटक प्रतिबन्ध लागू हुनु केही घण्टाअघि नै उक्त एप अफलाइन भएको छ। चिनियाँ भिडिओ सेयरिङ एप टिकटक प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आउनुअघि नै अमेरिकी प्रयोगकर्ताले एप प्रयोग गर्न नसकेको जनाइएको छ।
टिकटक प्रयोग गर्न खोज्ने अमेरिकी प्रयोगकर्तालाई ‘अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिएको छ। प्रयोगकर्ताहरूले गुगलको एप स्टोरमा टिकटक अनुपलब्ध रहेको र टिकटकको आधिकारिक वेबसाइटमा भिडिओ देखाउन छोडेको बताएका छन्।
यसअघि टिकटकले अमेरिकी सरकारले उचित कदम चाल्न नसके आफ्नो सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएको थियो।
अमेरिकी सर्वोच्च अदालतले टिकटकको माउ कम्पनी बाइटड्यान्सलाई आफ्नो अमेरिकी सञ्चालन आइतवारसम्म कुनै अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने कानुनलाई मान्यता दिएको थियो।
बीबीसीका अनुसार, ह्वाइट हाउसले कानुन लागू गर्ने विषय नवनिर्वाचित राष्ट्रपतिको निर्णयमा निर्भर हुने बताएको छ। वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल भोलि समाप्त हुँदैछ भने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गर्न लागेका छन्।