सामाजिक फीड-
जनकपुरधाम, माघ ६ गते ।
मधेश प्रदेश सरकारले सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्क शतप्रतिशत छुट दिने व्यवस्था गरेको छ। श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले शनिबार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन्।
मन्त्री रायका अनुसार गत मंसिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित सो ऐनले सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुटको व्यवस्था गरेको छ। साथै, यस ऐनअन्तर्गत १५ वर्षका लागि एकमुष्ट नवीकरण गराउन सकिने प्रावधान गरिएको छ, जसका लागि गाडीको मूल्यको मात्र ५ प्रतिशत शुल्क लाग्ने उनले जानकारी दिए।
उनले यो निर्णय मधेश प्रदेशको लागि ऐतिहासिक कदम भएको दाबी गर्दै अन्य कुनै प्रदेशमा यस्तो व्यवस्था नभएको बताए। यस ऐनबाट प्रदेशका लाखौं जनता लाभान्वित हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा मन्त्रालयका वरिष्ठ उपसचिव रञ्जितकुमार यादव, मधेश प्रदेशका आठ वटै जिल्लाका यातायात व्यवस्था कार्यालयका प्रमुखहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।