Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ ४
गते – जनकपुरधाम

सप्तरी जिल्लाको देउरी भरुवा टोलमा तीन दिन अघि डुबेर मृत्यु भएकी दुई वर्षीया बालिकाको गाडिएको शव बिहीबार भेटिएपछि सो क्षेत्र स्तब्ध भएको छ।

शव भेटिएको खबर फैलिएपछि राजविराज नगरपालिका वडा नम्बर १५ को देउरी भरुवा टोल र आसपासका गाउँहरूबाट ठूलो संख्यामा मानिसहरू घटनास्थलमा भेला भएका थिए।

प्रहरीका अनुसार तीन दिन अघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा पोखरीमा डुबेर मृत्यु भएकी साक्षी मण्डलको शव खाडो खोलाको किनारमा फेला परेको हो।

बालिका मामाघर आएकी थिइन् र साथीहरूसँग खेल्ने क्रममा अचानक खुट्टा चिप्लिएर पोखरीमा डुबेकी थिइन्। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

पोस्टमार्टमपछि बालिकाको शव खाँडो खोलाको किनारमा गाडिएको थियो। तर गहिरो खाडल नखनी गाडिएका कारण जनावरहरूले शव बाहिर निकालेको प्रहरीको भनाइ छ। शव केही अंग जनावरले खाइसकेको अवस्थामा फेला परेको थियो।

घटनाको सत्यता पुष्टि भएपछि प्रहरीले शवलाई पुनः गहिरो खाडल खनेर अन्त्येष्टी गरेको जनाएको छ। घटनाले देउरी भरुवा टोल र आसपासका क्षेत्रलाई स्तब्ध बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!