सामाजिक फीड-
माघ ४ गते – जनकपुरधाम
मधेश प्रदेश सरकारले यो वर्ष पनि माघ ५ गते सातौँ बलिदानी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त शहीद परिवार, अंगभंग भएका तथा घाइतेहरुलाई आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने छ।
अर्थमन्त्री सुनिल कुमार यादवले शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी फाइलमा तोकादेश गरेसँगै आर्थिक सहयोग वितरणको प्रक्रिया अघि बढेको छ। गत पुस २९ गतेको मन्त्री परिषद्को बैठकले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको थियो।
गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी शहीद प्रतिष्ठानले दिवसको आयोजना गर्दै आएको छ। यसका लागि रातो किताबमा पाँच लाख रुपैयाँ बजेट छुट्याइएको भए पनि आर्थिक सहयोग वितरणका लागि अर्थ मन्त्रालयको सहमति आवश्यक हुने जनाएको छ।
यस अवसरमा शहीद परिवार, अंगभंग भएका र घाइतेहरुलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ। विगतमा शहीद परिवारलाई तीन लाख रुपैयाँ र अंगभंग भएकाहरुलाई एकदेखि दुई लाख रुपैयाँसम्म सहयोग गरिएको थियो। यस वर्ष पनि जनकपुरधामको महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गरिनेछ।
मधेशी शहीद प्रतिष्ठानले आठ वटै जिल्लाका शहीद परिवार र घाइतेहरुलाई आवश्यक जानकारी उपलब्ध गराउने कार्य गरिरहेको जनाएको छ।
२०६३ सालको मधेश विद्रोहको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको हो। यस दिन सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएको थियो, जसले मधेश आन्दोलनलाई तीव्र बनाएको थियो। प्रदेश सरकार गठनपूर्व मधेश केन्द्रित दलहरुले आ-आफ्ना तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए।
लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले यस दिनलाई विशेष कार्यक्रम गरी स्मरण गर्ने परम्परा स्थापित गरेको छ।