एजेन्सी-
जनकपुरधाम, माघ ३ गते ।
इजरायल र हमास १५ महिनाको लामो युद्धको अन्त्य गर्न सहमत भएका छन्। दुवै पक्षबीच ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि लागू हुनेछ। यस युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकलाई रिहा गरिनेछ भने त्यसको प्रतिकार्यस्वरूप इजरायलले प्यालेस्टिनी बन्धकलाई मुक्त गर्नेछ। साथै, इजरायली सेना युद्धक्षेत्रबाट फिर्ता हुनेछ ।
युद्धविरामलाई प्रभावकारी बनाउन वार्ता प्रक्रिया निरन्तर चलिरहनेछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य तथा वामपन्थी नेताहरूले युद्धविरामको विरोध गरे पनि यसलाई संयुक्त राष्ट्रसंघ, अमेरिका, कतार, इजिप्टलगायत देशहरूले स्वागत गरेका छन् ।
यो सम्झौताले लाखौं विस्थापित गाजावासीलाई घर फर्कने अनुमति दिनेछ भने बन्धकहरूको रिहाइ सुनिश्चित हुनेछ ।
इजरायल र हमासबीचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो। हमासका लडाकुहरूले गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गर्दा १० नेपाली विद्यार्थी सहित १,२०० जनाको ज्यान गएको थियो। साथै, नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक बनाइएको थियो।
यस आक्रमणको जवाफमा इजरायलले हवाई र स्थल दुवैतर्फबाट व्यापक सैन्य कारबाही सञ्चालन गरेको थियो। यस क्रममा ४६ हजार मानिसको मृत्यु भएको छ ।
यो सम्झौताले वर्षौं लामो द्वन्द्वमा शान्तिको नयाँ आयाम ल्याउने आशा गरिएको छ ।