सामाजिक फीड-
पुष २९ गते , जनकपुरधाम ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायण पूजा आजबाट सुरु भएको छ। माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म घर–घरमा स्वस्थानीको कथा वाचन र श्रवण गरिन्छ।
धार्मिक मान्यताअनुसार, स्वस्थानी व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने विश्वास रहेको छ। यो व्रतको शुरुवात स्नान, नङ काटेर शुद्ध वस्त्र पहिरी गरिन्छ। बिहान माघ स्नान गरेपछि मध्याह्नकालमा महादेवको पूजा र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यमा रहेको स्वस्थानी कथा सुनाउने गरिन्छ।
व्रतको विशेष विधि र परम्परा
एक महिनासम्म व्रत गरेपछि माघ शुक्ल पूर्णिमाका दिन विशेष विधिबाट पूजा गरिन्छ। १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई भगवतीलाई अर्घ दिइन्छ।
शालीनदीमा विशेष मेला सुरु
काठमाडौंको शालीनदीमा आजदेखि स्वस्थानीको विशेष मेला सुरु भएको छ। धार्मिक कथाअनुसार, गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएकी थिइन्। व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देशका राजा बनेका थिए। यही विश्वासका आधारमा शालीनदीमा हरेक वर्ष माघ महिनाभर विशेष मेला लाग्छ।
माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरे पाप पखालिएर पुण्य कमाइने धार्मिक विश्वास छ। यस कारण लाखौं भक्तजन शालीनदी पुग्ने गर्छन्।
बहसको केन्द्रमा स्वस्थानी कथा
स्वस्थानी व्रत कथा हरेक वर्ष विभिन्न बहसका कारण चर्चामा आउने गर्छ। स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा आधारित यो कथालाई कतिपयले नारी अधिकारको दृष्टिकोणबाट आलोचना गर्छन् भने कसैले तत्कालीन समाजको चित्रण मानेर स्वाभाविक ठान्छन्।
तर, यो कथा वास्तविक घटनामा आधारित हो कि होइन भन्नेबारे अझै स्पष्ट प्रमाण फेला परेको छैन। धार्मिक मान्यताका बाबजुद पनि यो विषयमा बहस र छलफल जारी छ।