सामाजिक फीड-
पुष २८ गते , जनकपुरधाम ।
शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागले ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ देशव्यापी विविध कार्यक्रमहरूको आयोजना गरिने जानकारी गराएको छ।
दिवसको मुख्य समारोह कीर्तिपुर नगरपालिका स्थित वि.पी. कोइराला मेमोरियल विज्ञान संग्राहलय परिसरमा आयोजना गरिनेछ। उक्त कार्यक्रममा भूकम्प सुरक्षा र्यालीको आयोजना हुनेछ, जसले पाँगा दोबाटोबाट सुरु भई नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै कार्यक्रम स्थलमा पुग्नेछ।
मुख्य समारोह स्थलमा दुई दिने भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुनेछ। विपद् जोखिम न्यूनीकरणमा कार्यरत विभिन्न संघसंस्थाहरूको सहभागितामा आयोजित प्रदर्शनीमा भूकम्प सुरक्षाका नयाँ प्रविधि र उपायहरू प्रस्तुत गरिनेछ।
भूकम्प सुरक्षा दिवसको अवसरमा प्रदेश तथा स्थानीय तहमा गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक, अडियो-भिडियो कार्यक्रम लगायतका प्रचारप्रसार कार्यक्रमहरूको आयोजना गरिनेछ।
विभागले भूकम्पको पाठलाई आत्मसात् गर्दै बलियो संरचना र पूर्वतयारीमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।