सामाजिक फीड-
पुष २८ गते , जनकपुरधाम ।
जय ट्रफी एलिट कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। मधेशले दिएको झिनो २८ रनको लक्ष्य आर्मीले २ विकेटको क्षतिमा सहजै पूरा गर्यो।
यसअघि, पहिलो ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो। जवाफमा मधेश प्रदेश पहिलो इनिङमा मात्र १०२ रनमै समेटिँदै फलोअनमा परेको थियो। दोस्रो इनिङमा पनि मधेशले १५० रन मात्रै बनाउन सकेपछि आर्मीले २८ रनको लक्ष्य पायो।
आर्मीका ओपनर इमरान सेख र बसिर अहमदले टोलीलाई जित दिलाए। खेलका क्रममा त्रितराज दास र सन्तोष कार्कीलाई आर्मीले सस्तोमा गुमाएको थियो।
त्रिभुवन आर्मीको जितमा स्पिनर सहाब आलम र अलराउन्डर बसिर अहमदले महत्वपूर्ण योगदान दिए। सहाबले पहिलो इनिङमा ६ विकेट र दोस्रो इनिङमा ३ विकेटसहित कुल ९ विकेट लिए। बसिरले पहिलो इनिङमा ६७ रनको अर्धशतकीय पारी खेले भने दोस्रो इनिङमा ४ रनमा नटआउट रहेर विजयी चौका प्रहार गरे। बलिङतर्फ बसिरले मधेशको पहिलो इनिङमा १ विकेट र दोस्रोमा ४ विकेट लिए।
मधेश प्रदेशको दोस्रो इनिङमा ओपनर मयन यादवको ४९ रनबाहेक अन्य ब्याटर प्रदर्शन गर्न सकेनन्।
यो जितसँगै त्रिभुवन आर्मी क्लब फाइनल नजिक पुगेको छ भने मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।