सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते ।
जनकपुरधाममा युवा आवाजलाई लोकतान्त्रिक जवाफदेहिताको क्षेत्रमा सशक्त बनाउन ‘आर्टिभिजम कार्यक्रम’ आयोजना गरिएको छ। आयोजक संस्था कायापलटले कला र संवादमार्फत समुदायलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमको पहिलो सेसनमा “संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता?“ विषयमा गहन छलफल भएको थियो। राजनीतिक विश्लेषक मनोज साह, महिला नेतृ बिन्दु ठाकुर, र नर्थ साउथ कलेक्टिभका निर्देशक राकेश मिश्रले संघीयता लागू भएपछि मधेशको राजनीतिक परिप्रेक्ष्य र लोकतान्त्रिक जवाफदेहितामा भएका परिवर्तनहरूबारे विचार प्रस्तुत गरे। उक्त सेसन दिवकार उप्रेतीले सहज गरेका थिए।
महिला नेतृ बिन्दु ठाकुरले भनिन संघीयताले मधेशमा शक्ति विकेन्द्रीकरणका माध्यमबाट धेरै सकारात्मक परिवर्तनहरू ल्याएको छ। स्थानीय तहमा महिलाको सहभागिता बढेको छ र उनीहरू नीति निर्माण प्रक्रियामा समावेश भएका छन् । तर, अझै पनि धेरै ठाउँमा गुटबन्दी, राजनीतिक हस्तक्षेप र स्रोत साधनको सीमितताका कारण नागरिकहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने काममा कठिनाइ भइरहेको छ।महिलाले विशेष गरी आफ्नो आवाजलाई मजबुत बनाउन र समाजमा परिवर्तन ल्याउन संघीयताको संरचनाले सहयोग गरे पनि, प्रभावकारी जवाफदेहिताका लागि राजनीतिक इच्छाशक्ति, कानुनी सुधार, र जनताको सशक्तिकरण आवश्यक छ।
नर्थ साउथ कलेक्टिभका निर्देशक राकेश मिश्रले भने संघीयतापछि मधेशमा लोकतान्त्रिक जवाफदेहिताको स्थिति केही हदसम्म सुधारिएको देखिन्छ। तर, अझै पनि मधेशको राजनीतिक संरचना र विकास प्रक्रिया धेरै हदसम्म चुनौतीपूर्ण नै छ। संघीय संरचनामा अधिकारको विकेन्द्रीकरणले अवसरहरू प्रदान गरे पनि व्यावहारिक स्तरमा यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।
दोस्रो सेसन “लोकतान्त्रिक जवाफदेहितामा युवा: हिजो, आज र भोलि” विषयमा केन्द्रित थियो। यसमा राजर्षि जनक विश्वविद्यालयका सहायक प्राध्यापक अशोक साह, पैदल अनुसन्धान स्तम्भकार मन्जु यादव, अर्थशास्त्री डा. शिला मिश्र, र युवा विश्लेषक रोशना झाले युवाको भूमिका, शक्ति र भविष्यमा लोकतान्त्रिक जवाफदेहितामा योगदानबारे गहन छलफल गरे। सेसनको सञ्चालन सञ्चारकर्मी प्रतिभा झाले गरिन्।