सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते ।
जिल्लाका वैदेशिक रोजगारीमा जानेलाई शोषणमुक्त बनाउन जिल्ला प्रहरी कार्यालय धनुषाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
धनुषाको जिल्ला प्रहरी कार्यालयको सभाहलमा सुरक्षित आप्रवास (सामी) परियोजनाअन्तर्गत प्रहरी अधिकारीहरूसँग यो अन्तरक्रिया गरिएको हो। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले एजेन्ट र संस्थाबाट हुने शोषण र ठगीका घटना बढ्दै गएपछि धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीको विशेष रोहबरमा यो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको विशेष उपस्थिति रहेको थियो। यस क्रममा सामी परियोजनाका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा कार्यरत अधिकारीहरूलाई अभिमुखिकरण गराउँदै वैदेशिक रोजगारीका क्रममा हुने शोषण र ठगीसम्बन्धी जानकारी प्रदान गरेका थिए।
अन्तरक्रियामा सहभागी प्रहरी अधिकारीहरूले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको अधिकार सुरक्षित गर्न र शोषण रोक्न आवश्यक उपायहरू अवलम्बन गर्ने प्रतिवद्धता जनाएका छन्।