Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको सात दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा आवश्यक सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन्।

मुख्यमन्त्री सिंहले छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी बनाउने प्रतिबद्धता जनाउँदै मधेश बाहिरका विश्वविद्यालयहरूले युनिभर्सिटी ग्रान्ट कमिशन (यूजीसी) बाट अनुदान पाए पनि मधेशमा यो सुविधा नदिइएकोप्रति गुनासो गरे। उनले प्रतिष्ठानमा भर्ना भएका ५० मध्ये ३८ जना छात्रवृत्ति पाउने विद्यार्थीको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए। साथै, उनले अध्ययनपछि विद्यार्थीहरू स्वास्थ्य सेवामा प्रतिवद्ध रहने विश्वास व्यक्त गरे।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले स्वस्थ मधेश निर्माणका लागि प्रदेश सरकार निरन्तर खटिरहेको बताउँदै अस्थिरताका कारण अपेक्षित काम गर्न नसकेको स्वीकार गरे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलले मधेश र कर्णाली प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्र विकास नेपालकै समग्र विकासका लागि महत्त्वपूर्ण रहेको औंल्याए।

कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. विनोदकुमार यादवले प्रतिष्ठानका उपलब्धिहरू प्रस्तुत गर्दै मधेश सरकारको विशेष सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे। प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहले प्रतिष्ठानको विकासलाई मधेशका लागि ठूलो उपलब्धि भने।

अभिमुखीकरण कार्यक्रम अन्तर्गत नयाँ विद्यार्थीहरूलाई नैतिक मूल्य, आचारसंहिता, स्वास्थ्यकर्मीका मापदण्ड, र व्यवहारिक ज्ञानका लागि गाउँ र ठूला अस्पतालहरूको भ्रमण गराइने योजना रहेको छ। कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी, जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डललगायतले शुभकामना दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *