सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी छिन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले विश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रित गरे पनि पहल गर्दा मन्त्रीमाथि हस्तक्षेपको आरोप लाग्ने गरेको उल्लेख गरिन्।
उनले विश्वविद्यालय सुधारका लागि पदाधिकारीहरुले पहिलो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्। साथै, कक्षा १० को परीक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिइन्।
नतिजा सुधारका लागि काम भइरहेको भन्दै उनले १२ कक्षाको रजिस्ट्रेशन शुल्कमा राजस्व छुट गरिने बताइन्। छात्रवृत्ति प्रभावकारी बनाउन ऐन संशोधन गरेर लक्षित वर्गसम्म पुर्याइने बताउँदै शिक्षा सुधारका लागि वर्तमान बजेट अपुग हुने भएकाले संघ, प्रदेश, र स्थानीय तहले बजेट बढाउनुपर्ने आवश्यकता औंल्याइन्।
मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा क्यालेन्डरअनुसार काम भइरहेको र कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, उनले विशेष परिस्थितिमा स्थापना भएका दल निकट शिक्षक संगठनहरू हाल आवश्यक नरहेको बताउँदै शिक्षा क्षेत्रमा सुधारको खाका प्रस्तुत गरिन्।