सामाजिक फीड-
जनकपुरधाम, पुस २५ गते ।
कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनाविरुद्धको थुनछेक बहस सकिएको छ। सरकारी वकिलको जवाफी बहसपछि अदालतले थुनामै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने भन्नेबारे आदेश दिन तयारी गरेको छ।
न्यायाधीश नीतिज राईको इजलासमा पुस ६ गतेदेखि सुरु भएको थुनछेक बहसमा कास्की जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन्।
लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, मीना गुरूङ, कृष्णबहादुर गुरूङ, र आरती गुरूङलाई सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरिएको छ। सरकारी वकिल कार्यालयका अनुसार लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता गरिएको छ भने १९ जनाविरुद्ध सङ्गठित अपराधमा र अन्य केही प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइएको छ।
लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सुरक्षाका कारण अदालत परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ भने भीडभाड गर्न रोक लगाइएको छ।
सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ। अदालतले अबको आदेशपछि लामिछानेसहित आरोपितहरूको अनुसन्धान प्रक्रिया टुंगो लाग्नेछ।