Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष २३ गते – जनकपुरधाम

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने विषय सम्बन्धित पार्टीको मात्र सवाल नभएको बताएका छन्।

पूर्व राष्ट्रपति विद्या भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्कने चर्चाका बीच भट्टराईले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो टिप्पणी गरेका हुन्।

‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आ–आफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो,’ उनले लेखेका छन्।

भट्टराईले यस सवाललाई एक दलीय प्रणाली र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको पक्षधरता बीचको परीक्षाको रूपमा व्याख्या गरेका छन्। उनले भनेका छन्, ‘वहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनुभएकाले वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगीकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्त्वपूर्ण कसौटी पनि हो।’

भट्टराईले यो विषयमा सबैको ध्यानाकर्षण गराउँदै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको संरक्षण र विकासमा गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *