Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष २२ गते – जनकपुरधाम

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको करिब ९ सय बिघा वनभूमि भारतीय नागरिकहरूले भोगचलन गरिरहेको विषयमा सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका छन्।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले गृहमन्त्री लेखकलाई कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा सरकारको धारणा स्पष्ट गर्न आग्रह गरेका हुन्।

सांसदहरूको प्रश्न
सांसद रघुजी पन्तले कान्तिपुरलगायत सञ्चारमाध्यममा सार्वजनिक शुक्लाफाँटाको वनक्षेत्रमा भारतीय नागरिकले खेतीपाती गरिरहेको समाचारप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै सो विषयमा सरकारले उठाएका कदमहरूबारे प्रश्न गरे।

उनले भने, “कञ्चनपुरमा ९ सय बिघा भन्दा बढी नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको भन्ने समाचार आएको छ। यो गृहमन्त्रीकै निर्वाचन क्षेत्रसमेत हो। सीमा विवाद नभएको हुँदा सरकारले तत्काल कदम चाल्नुपर्छ। नेपाली भूमि छिमेकीले उपभोग गर्ने अवस्था अन्त्य गर्नुपर्छ।”

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले पनि यस विषयलाई गम्भीरताका साथ हेरिनुपर्ने बताए। उनले भने, “भूमि हाम्रो नक्सामा तर भोगचलन भारतले गरिरहेको छ। यो कार्य स्वीकार्य छैन। यसबारे सरकार जिम्मेवार हुनुपर्छ।”

सरकारको जवाफ माग
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा भारत, उत्तर प्रदेशको पिलिभित जिल्लाको गोरख डिबीसँग जोडिएको क्षेत्रमा भारतीय नागरिकले लामो समयदेखि खेतीपाती गरिरहेको सार्वजनिक भएको छ।

सांसदहरूले गृहमन्त्री लेखकलाई यो विषयमा शीघ्र कदम चाल्न र संसदमा स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *