Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष २२ गते – जनकपुरधाम

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरलाई भारतको श्रीनगरमा आठ महिनासम्म बन्धक बनाइ काममा लगाएर कुनै ज्याला नदिइ घर फर्काइएको छ। उनीहरूलाई एक छाक खान दिएर १२–१४ घण्टासम्म कठोर श्रममा लगाइएको, मोबाइल खोसेर परिवारसँग सम्पर्कविहीन बनाइएको, र ज्याला तथा खानाको माग गर्दा कुटपिट र यातना दिइएको पीडितहरूले बताएका छन्।

गत वर्ष चैतमा गोलबजार वडा नम्बर ३ का हरिचन सदा र उनका सम्धीले दुई भारतीय ठेकेदारसँग मिलेर नवटोली र भाङ्गबारी गाउँका मुसहर समुदायका मजदुरहरूलाई आकर्षक ज्याला दिने प्रलोभनमा श्रीनगर लगेका थिए। प्रत्येक मजदुरलाई मासिक ३३ हजार रुपैयाँ दिने बचन दिइएको थियो।

तर, श्रीनगर पुग्नासाथ उनीहरूलाई मोबाइल खोसियो, एउटा कम्पाउण्डमा बन्दी बनाईयो, र दिनको १२–१४ घण्टा भोकभोकै काममा लगाइयो। खाना माग्दा कुटपिट गरिन्थ्यो। कतिपय मजदुर घाइते भएर नेपाल फर्किए, कसैका आँखा र शरीरका भागमा चोट छ।

कार्तिक महिनामा भागेर नेपाल फर्केका मजदुरहरूले अन्य मजदुरको स्थिति बताएपछि गाउँलेहरूको दबाबमा हरिचन सदा र भारतीय ठेकेदारहरूले जनही दुई हजार भाडा दिएर सबैलाई घर फर्काएका थिए।

पीडितहरूले करिब पौने तीन करोड रुपैयाँ बराबरको ज्याला नपाएको दाबी गरेका छन्। उनीहरू वडा कार्यालय, नगरपालिका, र इलाका प्रहरी कार्यालयमा न्याय माग्दै पुगेका छन्। तर, हालसम्म ठोस कानूनी प्रक्रिया अघि बढेको छैन।

मुसहर अगुवा अयोधी सदा भन्छन्, “हाम्रो आवाज सुनिदिने कोही छैन। हामी आठ महिनाको श्रमको मूल्य खोजिरहेका छौँ।”

वडाध्यक्ष धनप्रसाद लामाले पीडित मजदुरहरूले रीतपूर्वक निवेदन दिएपछि न्याय दिलाउन सक्दो प्रयास गर्ने बताए। इलाका प्रहरी कार्यालयका निरीक्षक गोविन्द साहले निवेदन आएपछि कानूनी प्रक्रिया थालिने जानकारी दिएका छन्।

राराताजब क्याम्पसका उपप्राध्यापक प्रदीप साह भन्छन्, “भारतका ठेकेदारले दलित गरिबलाई प्रलोभन देखाएर काममा लगाएर ठगी गर्ने घटना नेपालमा बाक्लै भइरहेको छ। यसतर्फ सरकार र सरोकारवालाको ध्यान जान जरुरी छ।”

यस घटनाले दलित मुसहर समुदायको गरिबी र न्यायप्रतिको संघर्षलाई पुनः उजागर गरेको छ। पीडितहरूले आफ्नो श्रमको उचित मूल्य र न्यायका लागि सम्बन्धित निकायको सहयोगको प्रतीक्षा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *