सामाजिक फीड-
पुष २२ गते – जनकपुरधाम ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ।
सरुवा, काज, र पदस्थापनलाई व्यवस्थित बनाउन नसक्दा सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना भएको र स्रोतसाधनको दुरुपयोग भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो कदम चालेको हो।
राष्ट्रिय सतर्कता केन्द्रलाई अनुगमनको जिम्मा
कर्मचारीलाई कामविहीन बनाएको र सुशासनमा समस्या आएको भन्दै कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रलाई व्यवस्थापनको प्रगति अनुगमन गरी चौथो दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
लापरबाही र कमजोरीका कारण व्यवस्था कमजोर
प्रधानमन्त्री कार्यालयले पठाएको पत्रमा विगतका सचिव स्तरीय बैठकका निर्णयहरूको कार्यान्वयनमा लापरबाही भएको जनाइएको छ।
- रिक्त पद यकिन नगरी सरुवा गर्ने,
- विभागीय प्रमुखको पदस्थापनमा संघीय मामिला मन्त्रालयको सहमति नलिने,
- तल्लो श्रेणीका कर्मचारीलाई उच्च पदका जिम्मेवारी तोक्ने,
- सरुवा भएका कर्मचारीलाई समयमा रमाना नदिने जस्ता समस्याका कारण व्यवस्थापन प्रणाली कमजोर बनेको उल्लेख छ।
मनोबल गिरावट र सेवा प्रवाहमा असर
कामविहीन अवस्थामा बस्न बाध्य कर्मचारीहरूको मनोबलमा गिरावट आएको र सेवा प्रवाहमा प्रत्यक्ष असर परेको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले तीन दिनभित्र जिम्मेवारी तोक्न, बाँकी व्यवस्थापन गर्न, र त्यसको जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ।