सामाजिक फीड-
जनकपुरधाम, पुष २१ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गर्नुभएको छ।
जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप) को उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयारको काम लगभग सकिएको जानकारी दिनुभयो। केही प्राविधिक समस्याहरू समाधान भइसकेको र केही दिनभित्र डिपिआर तयार हुने उहाँले बताउनुभयो।
मुख्यमन्त्री सिंहले राष्ट्रिय परिषद र गुठी संस्थाबीच रंगशालाका लागि जमिनसम्बन्धी सम्झौता २२ गते सम्पन्न हुने जानकारी गराउँदै, त्यसपछि दुईदेखि तीन दिनभित्र बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेर केन्द्र सरकारसँग अनुमति लिने प्रक्रियामा अघि बढ्ने बताउनुभयो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा घोषणा गर्नुभएको १ अर्ब रुपैयाँ अनुदान यसै रंगशालाको निर्माणमा प्रयोग गरिनेछ भने मधेश प्रदेश सरकारले थप १ अर्ब रुपैयाँ विनियोजन गर्ने मुख्यमन्त्रीले जानकारी दिनुभयो। साथै, उहाँले प्रदेशका युवाहरुलाई खेलकुदमा सक्रिय हुन आग्रह गर्दै खेलकुदको विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि सुरु भएको एलिट कपमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई सुदृढ बनाउन रेड बल क्रिकेट आवश्यक भएकाले यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। पूर्वाधार र आर्थिक स्रोतको अभावका कारण सीमित टिमहरू मात्र समावेश गरिएको भए पनि भविष्यमा प्रतियोगितालाई विस्तार गरिने खड्काले जानकारी दिनुभयो। साथै, उहाँले तीनै तहका सरकारलाई खेल मैदान निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो। प्रतियोगिताको उद्घाटन खेलमा जनकपुरधाममा मधेश प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।