सामाजिक फीड-
जनकपुरधाम, पुष २१ गते ।
प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। कमजोर ‘भिजीबिलिटी’ (दृश्यता) का कारण काठमाडौँ बाहिरका धेरैजसो विमानस्थलमा बिहानको उडान प्रभावित भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (VFR) अनुसार उडान भइरहे पनि अन्य स्थानका विमानस्थलमा नियमित उडान हुन सकेन। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार भद्रपुर, भरतपुर, पोखरा, र सुर्खेत विमानस्थल बाहेक अन्य ठाउँमा मौसमको प्रतिकूलताका कारण उडान रोकिएको छ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको जनाउनुभयो। उहाँका अनुसार हाल भद्रपुर, भरतपुर, पोखरा, र सुर्खेतका लागि उडान खुले पनि अन्य विमानस्थलमा कमजोर दृश्यताको कारण समस्या भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका धेरै ठाउँमा आंशिकदेखि साधारण बदली छ। मौसमविद् बिनु महर्जनले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र मधेस प्रदेशको पूर्वी भूभागमा साधारण बदली रहेको र कोशी तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको बताउनुभयो।
उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव भोलि (सोमबार) र पर्सि (मङ्गलबार) बढ्ने र यसले बदलीसहित वर्षाको सम्भावना रहनेछ।