Samajik Feed – News Portal from Nepal

सिद्धार्थ बैंकले आफ्नो जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ र कर्जा असुली प्रक्रियामा अनियमितताको आरोपसम्बन्धी सञ्चार माध्यममा आएका समाचारलाई असत्य ठहर गर्दै स्पष्टीकरण दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले ऋण असुली प्रक्रियामा कुनै अनियमितता नभएको र सबै प्रक्रिया प्रचलित कानूनी मापदण्ड र बैंकिङ्ग अभ्यासअनुसार भएको जनाएको छ।

सिद्धार्थ बैंक द्वारा जारी विज्ञप्ती

बैंकका अनुसार, जनकपुर र क्षीरेश्वर शाखाबाट कर्जा लिएका केही ऋणीहरूले समयमै भुक्तानी नगरेपछि आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको थियो। यो अन्तर्गत, मौखिक र लिखित पत्राचारपछि ३५ दिने सार्वजनिक सूचना जारी गरी धितो लिलामी प्रक्रियामार्फत योग्य बोलपत्रदाताको नाममा नामसारी गरिएको बैंकले स्पष्ट पारेको छ।

यस प्रक्रियामा असहमति जनाउँदै केही व्यक्तिले जनकपुर शाखामा प्रदर्शन र नाराबाजी गर्दा बैंकको नियमित सेवा प्रभावित भएको थियो। स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनसँग समन्वय गरी शाखा प्रबन्धक र अन्य कर्मचारीलाई छलफलका लागि प्रहरी कार्यालय पठाइएको बैंकले जनाएको छ। तर, यस घटनालाई तोडमोड गर्दै शाखा प्रबन्धकलाई पक्राउ गरिएको भनेर गलत जानकारी फैलाइएको बैंकको धारणा छ।

बैंकले सबै कानूनी प्रक्रिया अनुसरण गरेर कर्जा असुली कार्य सम्पन्न गरेको बताउँदै असन्तुष्ट पक्षलाई न्यायिक समाधानका लागि सम्बन्धित निकायमा जान आह्वान गरेको छ। साथै, बैंकले गलत सूचना फैलाएर भ्रम सिर्जना नगर्न सबैलाई सचेत गराएको छ।

सिद्धार्थ बैंकले आफ्ना कार्यहरू कानूनी रूपले पारदर्शी भएको दोहोर्याउँदै, नियमित सेवा अबाध सञ्चालन गर्न सबै पक्षलाई सहकार्य गर्न आग्रह गरेको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *