Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,पुस ७ गते ।

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि जनकपुरमा दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना गरिएको छ। यो काँन्क्लेव हिन्दुधर्मग्रन्थ रामायणका आधारमा त्रेता युगका राजा दशरथका छोरा राम र मिथिलाका राजा जनककी छोरी सीताको विवाहसम्बन्धको ऐतिहासिक अर्थलाई पुनः जीवित बनाउनका लागि आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन जनकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गरे। भारतको उत्तर प्रदेश पर्यटन विभाग, अन्तर्राष्ट्रिय रामायण एवं वैदिक शोध संस्थान, अयोध्या र जनकपुरधाम उपमहानगरपालिकासहित अन्य संस्थाहरूको सहयोगमा आयोजना गरिएको यस काँन्क्लेवको पहिलो सत्रमा रामायण समागम र सांस्कृतिक चर्चापरिचर्चा भयो।

उद्घाटन सत्रमा भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराज लगायतका प्रमुख व्यक्तित्वहरूले रामायणकालीन सांस्कृतिक सम्बन्धको महत्व र त्यसको वर्तमान सन्दर्भमा चर्चा गरेका थिए।

महन्थ रामरोशन दास वैष्णवले जनकपुर र अयोध्याबीचको प्रेम र सद्भावको सम्बन्धलाई उजागर गर्दै जनकपुरलाई विश्वसामु अघि सार्नको लागि एक अन्तर्राष्ट्रिय पहिचानको आवश्यकता रहेको बताए। “जनकपुरले रामायणको महत्वलाई जीवित राखेको छ। यहाँ सीतालाई बहिनीको रूपमा पूजा गरिन्छ र यो भूमिलाई छोरीको महिमाले चिनिन्छ,” उनले भने।

काँन्क्लेवमा भारत र नेपालका कलाकारहरूले लोक सांस्कृतिक नृत्यहरूको प्रदर्शनी पनि प्रस्तुत गरे। विशेष गरी भारतको मथुराबाट आएका कलाकारहरूको बमर सिया र धोबिया नृत्य, र जनकपुरका कलाकारहरूको मिथिला नाट्यकला प्रदर्शनीले दर्शकहरूलाई भावविभोर बनायो।

कार्यक्रममा भारतका प्रसिद्ध भजन सम्राट अनुप जलोटाको भजन सन्ध्याले कार्यक्रमलाई थप भव्य बनायो। साथै, रामार्चन काव्य संध्यामा भारतका विभिन्न ख्यातिप्राप्त कविहरूको सहभागिता रहनेछ।

काँन्क्लेवको अवसरमा झिझिया र क्षरी क्षरी नृत्य प्रदर्शनी पनि गरिनेछ, जसले जनकपुरको सांस्कृतिक धरोहरलाई विश्वसामु प्रस्तुत गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *